३३ जिल्लाका १८ लाख बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइदै

सरकारले आजदेखि दोस्रो चरणको खोप अभियान सुरु गरेको छ । सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमीका ३३ जिल्लामा खोप अभियान चलाउने बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।
दोस्रो अभियानमा ३३ जिल्लामा १८ लाख भन्दा धेरै बालबालिकालाई दादुर र रुबेला विरुद्धको खोप दिइने महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमले बताउनुभयो । दादुरा र रुबेला विरुद्धको खोपसँगै ५ वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाइने छ ।
दादुरा र रुबेला विरुद्धको खोप ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दिइने छ । पहिलो खोप ९ महिनामा लगाएकाले १५ महिना भएपछि फेरि दादुरा र रुबेला बिरुद्धको दोस्रो खोप लगाउनुपर्छ ।
देशका धेरै ठाउँमा एक पटक खोप लगाइसकेका बालबालिकामा फेरि पनि दादुरा र रुबेला देखिएकाले खोप लगाउन सरकारले अभिभावसँग आग्रह गरेको छ । सन् २०१९ सम्म नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्यका साथ सरकारले खोप अभियान थालेको हो ।
दोस्रो चरणको अभियान सकेपछि मध्यमाञ्चल र पूर्वाञ्चलका २१ जिल्लामा तथा हिमाली क्षेत्रमा खोप अभियान सुरु हुनेछ । महाशाखाले यस अघि भूकम्प अति प्रभावित १४ जिल्लामा पहिलो चरणको खोप अभियान चलाएको थियो ।

source: News24nepal

Post a Comment

Previous Post Next Post