औषधी मन्त्र र मर्म


 'मेडिसिन ईज अ सेफ पोइजन' अर्थात् औषधी एक सुरक्षित विष हो । औषधीको सन्दर्भमा प्रचलित यो भनाई असत्य होईन । औषधी सही ढंगले प्रयोग गरेमात्र  रोगको निदान हुन्छ । यो विषय हामी हरेकलाई थाहा छ । यद्यपि यति जान्दाजान्दै पनि हामीमध्ये धेरैले सानोसानो हेलचेक्राइँ वा भुलचुक गरिरहेका हुन्छौँ । पछि गएर त्यही सानो कमजोरीको ठूलो मुल्य चुकाउनुपर्ने हुनसक्छ । औषधीको प्रयोग गर्दा हामीले केकस्ता  कुरामा ध्यान दिनुपर्छ त ? हेरौं ।

औषधी को  विवरण
फार्मासिस्टले दिएको औषधी डाक्टरले लेखिदिए अनुसार छ भन्ने कुरा सुनिश्चित गर्नुपर्दछ । डाक्टरले दिने पुर्जीमा लेखिएको औषधी र आफुले प्रयोग गर्ने औषधीमा कुनै किसिमको फरक नहोस् भन्नेमा हामी हरदम सचेत रहनुपर्दछ ।
सामान्यतया औषधी पसल वा फार्मेसीमा औषधीको उपयोग मिति (एक्सपायरी डेट) हेरिन्छ । तर, बिरामी वा ग्राहकले पनि यसमा ध्यान पुर्‍याउनु जरुरी छ । तपाईँले त्यसो गर्नुहुन्छ कि नाइँ ? भुलचुक वा लापरबाहीले यसमा फरक परिरहेको त छैन ?
औषधीको बारेमा विस्तृत रुपमा बुझेरमात्रै सेवन गर्नुपर्दछ । डाक्टर, फार्मासिस्ट वा सम्बन्धित स्वास्थ्यकर्मीसँग राम्रोसँग सल्लाह लिएरमात्र औषधी सेवन गर्नुपर्दछ । सल्लाह र परामर्श लिन हिच्किचाउनु हुँदैन ।
औषधीको पूर्ण विवरण हेर्ने गर्नुपर्दछ । स्वास्थ्यकर्मीले दिने सल्लाहको राम्रोसँग पालना गरी उचित ढंगले औषधी प्रयोग गर्ने बानी गर्नुपर्दछ । जस्तैः खाना खाइसकेपछि वा खाना अगाडि खाने औषधी खानाभन्दा आधा घन्टा अगाडि/पछाडि सेवन गर्नुपर्दछ ।
कुन औषधी कतिपटक र केसँग खाने भन्ने  कुरा पनि एकदमै महत्वपूर्ण हुन्छ । प्रायः औषधीहरु पानीसँग सेवन गर्ने गरिन्छ । तर, कतिपय औषधी फलफूलको रस वा दूधसँग खाँदा त्यसको सकारात्मक वा नकारात्मक असर पर्न सक्छ । त्यसैले यस्ता विषयमा लापरबाही गर्नु हुँदैन । मदिरासँग कुनैपनि औषधी सेवन गर्नु हुँदैन ।
औषधी भाँचेर प्रयोग गर्ने बानी सबै औषधीको हकमा ठीक होईन । कतिपय औषधी टुक्रयाउँदा भयानक दुर्घटना समेत निम्तिन सक्छ । यसतर्फ विशेष ध्यान दिनु पर्छ ।
औषधीको  भण्डारण
औषधीको सही रुपमा भण्डारण गर्नुपर्छ । औषधी घामबाट टाढा, सुख्खा ठाउँ, कम तापक्रममा  र बच्चाहरुको पहुँच नहुने ठाउँमा राख्नुपर्दछ । विशेष गरी झोल औषधीहरु कमिला पुग्ने ठाउँमा राख्नुहुँदैन । 
औषधीको प्रयोग
औषधी प्रयोग गर्नुपूर्व जहिले पनि त्यसको मिति हेरेर, तोकिएको विधिअनुसार खानुपर्छ । झोल औषधीहरु प्रयोग गर्नुपूर्व अलिकति हल्लाएर वा राम्रोसँग चलाएर प्रयोग गर्नु उचित हुन्छ । त्यस्ता औषधीहरु प्रयोग गर्दा झोल सम्पूर्णरुपमा एकैनासको बनाई सेवन गर्नुपर्दछ । 
दम रोगको बिरामीहरुले प्रयोग गर्ने  फुस्फुस (Inhaler) को धेरै मात्रामा कमी हुने गरेको पाइन्छ । त्यसैले यस्ता किसिमका औषधी किन्ने र प्रयोग गर्नेबेलामा डाक्टर वा फार्मासिस्टसँग राम्रोसँग बुझ्ने गर्नुपर्दछ । प्रयोगको तौरतरिका सिकेर मात्र औषधी प्रयोग गर्नु लाभदायक हुन्छ ।
कतिपय बिरामीहरु र डाक्टरहरु समेत औषधीको बान्ड्रप्रति निकै सचेत हुने गरेको पाइन्छ । सबै ठाउँमा यौटै ब्रान्डको औषधी उपलब्ध नहुन सक्छ । तर, यौटै केमिकल प्रयोग गरिएको र उही प्रयोजनको लागि बनाइएको औषधीको ब्रान्ड फरक पर्दैमा त्यसको प्रयोग गर्न डराउनु पर्दैन । हरदम औषधी कम्पनी र औषधीको नाम तथा ब्रान्ड उही हुनुपर्छ भन्ने छैन । विज्ञ स्वास्थ्यकर्मीको सल्लाहमा फरक ब्रान्डको प्रयोग गर्न सकिन्छ । 
एन्टिबायोटिकको प्रयोग
एन्टिबायोटिक औषधीको प्रयोग कहिल्यै पनि आफुखुशी गर्नुहुँदैन । कतिपय व्यक्तिको सामान्य समस्यामा पनि एन्टिबायोटिक औषधी प्रयोग गर्ने बानी हुन्छ । यस किसिमको प्रयोगले बिरामीलाई दीर्घकालीन रुपमा हानी हुनसक्दछ । त्यसैले डाक्टरको सल्लाह बिना मनोमानी ढंगले एन्टिबायोटिक औषधीको प्रयोग नगरौं । 
कुनैपनि स्वास्थ्य समस्याको समाधानका लागि औषधी प्रयोग गर्दा हुने सानो त्रुटिले नकारात्मक असर पर्नसक्छ । औषधीको प्रयोगमा लापरबाही गर्दा जीवन नै जोखिममा पर्न पनि सक्छ । त्यसैले औषधीबारे सही जानकारी लिने, त्यसको उचित ढंगले भण्डारण र प्रयोग गर्ने कुरालाई जीवनको मन्त्र बनाउनुमा सबैको हित छ । औषधी सही ढंगले प्रयोग गरिएन भने त्यो आफैमा विष बन्न सक्छ । 
Phr. कविन मलेकू 
सर्वनिदान क्लिनिक 
रातोपुल , काठमाडौं 

Post a Comment

Previous Post Next Post