छिट्टै नाका नखुले देशैभर अभाव

तराईमा चलेको आन्दोलन र बन्दले गर्दा त्यस क्षेत्रमा अत्यावश्यक औषधिको अभाव हुन थालेको छ। भारतबाट आपूर्ति सहज नभएसम्म काठमाडौं लगायत देशैभरि औषधिको अभाब हुन सक्ने औषधि व्यवस्था विभागको भनाई छ।
तराईका केही जिल्लामा औषधिको अभाव भएको औषधि व्यवस्था विभागका प्रवक्ता  नारायणप्रसाद ढकालले जानकारी दिएका छन्। साथै तराईमा रहेका औषधि उद्योगहरुले समेत अहिले औषधि उत्पादन गर्न सकेका छैनन्। भारतीय नाकामा औषधिका लागि आवश्यक कच्चा पदार्थ रोकिएपछि काठमाडौं लगायत देशभर रहेका औषधि उद्योगको उत्पादनमा समेत असर परेको ढकालले बताए। उनले भने ‘औषधिम कुनै एक कच्चा पदार्थ मात्रै अभाव हुँदा पनि औषधि बन्दैन, नाका बन्द र आन्दोलनले गर्दा नेपालका औषधि उद्योगले समेत औषधि उत्पादन गर्न नसक्ने स्थिति आएको छ।’ 
स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले औषधिजस्तो बस्तुको आयातमा रोक लगाउनु भारतको गैरजिम्मेवार पुर्वक कदम भएको बताउँछन।   उनले भने ‘आयातमा रोक लगाउनु भुपरिवेष्ठित राज्यको अधिकार बिरुद्धको काम हो, औषधिजस्तो बस्तुमा समेत रोक लगाउनु भनेको गैरजिम्मेवार पुर्वक गरिएको कदम हो।’  
नेपालमा खपत हुने औषधिमध्ये थोरै मात्रै देशमै उत्पादन हुन्छ। नेपालमा खपत हुने औषधि धेरैजसो भारतबाटै आउने  गरेको मन्त्री अधिकारीले जानकारी दिएका छन्। नेपालमा भारतबाट आयात हुने औषधि सबै स्थलमार्ग भएर आउने गर्छन्। संख्याको हिसाबले तराईमा नै धेरै औषधि उद्योगहरु रहेका छन्। नवलपरासी र भैरहवामा रहेका औषधि उद्योगहरु  अहिले पनि सञ्चालनमा रहेका छन् । तर बिरगंज र बिराटनगरका औषधि उद्योगहरु भने अहिले बन्द छन्। औषधिको कच्चा पदार्थको उपलब्धता हुन नसकेपछि देशमा रहेका अन्य औषधि उद्योगहरुले समेत औषधि उत्पादन बन्द गर्न लागेका छन्। 
राजधानीमा समेत एड्रिनालीट औषधिको अभाब ह्ुन थालेको विभागका प्रवक्ता ढकालको भनाई छ। उनले भने ‘सर्पले टोक्यो वा अन्य बिशाक्तता हटाउन प्रयोग हुने यो औषधिको धेरै दिन म्याद नै हँुदैन, जसका कारण यो अभाब  देखिएको हो।’
औषधि व्यवसायी महासंघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले तराईमा अहिले बिशेषगरी कार्डिक, प्रेसर, सुगर र सलानी पानी औषधिको अभाब भएको जानकारी दिएका छन्। नाका बन्द केही दिन बढेमा देशैभर कार्डिक, प्रेसर, सुगर र सलानी पानीको अभाब हुने श्रेष्ठ बताउँछन्। 
अहिले बाग्मति, लुम्बिनी र नारायणी अञ्चलको नारायणघाटमा औषधिको अभाव छैन। बन्दले निरन्तरता पाएमा देशमा औषधिको अभाब हुने हुँदा यसमा तराईका पार्टी संयमित हुनुपर्ने उनको सुझाब छ। 
उनले भने ‘औषधिजस्तो जीवन मरणको कुरामा हामीले  राजनीति गर्न खोज्नु हुँदैन, यसले सबै नेपालीलाई नराम्रो गर्छ।’ औषधिलाई  आफ्नो राजनैतिक माग पुरा गराउने आधार गराउन नहुने श्रेष्ठको भनाई छ।  अहिले औषधि व्यवसायीहरुले बिदेशबाट हवाईजहाजबाट औषधि आयात गरी नेपालमा औषधि उपलब्धता गराउन लागेका छन्। 

सुदिल पोखरेल काठमाडौं, असोज १० 

प्रकाशित मिति: शनिबार, आश्विन ९, २०७२ १७:०८:४५

Post a Comment

Previous Post Next Post