औषधि तथा औषधिजन्य सामग्रीहरु प्रत्येक मानिसको जीवनको एक अभिन्न अङ्ग भइसकेको छ । जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै रोगको उपचार वा स्वास्थ्य सम्बन्धी समस्याको समाधानको लागि हरेक व्यक्तिले औषधिको सेवन वा प्रयोग गरेको हुन्छ । यसरी जीवनको एक अत्यावश्यक र अति नै संवेदनशील औषधिको समुचित प्रयोग नहुँदा र सो को गुणस्तरमा एकरुपता नहुँदा गुणस्तरको सुनिश्चितता सधैं नै बहसको विषय बन्दै आएको सर्वविदितै छ । विश्व स्वास्थ्य संगठन तथा संयुक्त राज्य अमेरिकाको इन्स्टिच्युट अफ मेडिसिनका प्रतिवेदनहरुले विश्वभरमा क्यान्सर, मधुमेह, उच्च रक्तचाप वा सडक दुर्घटनाबाट मर्ने मान्छेको जम्मा संख्याभन्दा बढी औषधिको गलत प्रयोगबाट मर्ने गरेको पुष्टि गरिसकेका छन् । हरेक देशमा औषधि तथा औषधिजन्य सामग्री जस्तै सर्जिकल सामग्री, स्युचर आदिको नियमन गर्ने सरकारी निकाय हुने गरेकामा नेपालमा औषधि व्यवस्था विभागबाट सो को नियमन गर्ने गरिएकोमा अझ बढी प्रभावकारी अनुगमनको सर्वत्र अपेक्षा गरिएको छ ।
बिरामीहरु विभिन्न प्रकृतिका रोग वा स्वास्थ्य समस्या लिएर विभिन्न स्वास्थ्य संस्था जस्तै प्राथमिक स्वास्थ्य केन्द्र, हेल्थ पोष्ट, जिल्ला अस्पताल, अञ्चल अस्पताल वा केन्द्रीय अस्पतालमा जाने गर्दछन् । त्यहाँ कार्यरत विभिन्न स्वास्थ्यकर्मी जस्तै अहेब, हेल्थ असिस्टेन्ट, डाक्टरहरुद्दारा उनीहरुलाई औषधि सिफारिश गरिए अनुसार अस्पताल फार्मेसी वा अन्य फार्मेसीबाट बिरामीहरुले औषधि किनेर खाने गरिरहेको स्थिति छ । ती फार्मेसीको अनुगमन औषधि व्यवस्था विभाग (यसपछि विभाग भनिएको) बाट समय-समयमा गरिने गरिए पनि नेपालमा दर्ता भएका भन्दा विनादर्ता फार्मेसी अत्यधिक रुपमा प्रचलनमा रहेका कुरा स्वयम् विभागकै प्रतिवेदनले देखाइसकेका छन् । त्यसमाथि विकसित देशहरुमा जस्तो नेपालमा फार्मेसी प्रोफेशन अँगाल्न अत्यावश्यक लाइसेन्स प्राप्त फर्मासिष्टले मात्र औषधि प्रयोगका सम्बन्धमा बिरामीलाई परामर्श दिने नगरेकाले, बिरामीले पनि औषधि प्रयोगबारे फर्मासिष्टसँग परामर्श लिनु आफ्नो अधिकार मात्र नभई अत्यावश्यक भएको कुरा प्रत्याभुत गर्न नसकेकाले, स्थान र दुरीका हिसाबमा फार्मेसीको समुचित वितरण हुन नसकेकाले, ६५ प्रतिशतभन्दा बढी औषधि विदेशबाट आयातीत हुने आदि विविध कारणले गर्दा औषधिको गुणस्तरमा सरकारी अनुगमनको पर्याप्त असर नपरिरहेको कटु सत्य घाम जत्तिक्कै छर्लङ्ग छन् । यस्तो परिस्थितिमा प्रत्येक स्वास्थ्यकर्मी जस्तै डाक्टर, फर्मासिष्ट, नर्स आदिका अलावा उपभोक्ता आफैं पनि औषधिको गुणस्तरका विषयमा जागरुक र सजग हुनैपर्ने बाध्यात्मक परिस्थिति टड्कारो रुपले देखा परिसकेको छ ।
औषधिको गुणस्तर यति सारो पेचिलो विषय बन्नुको पछाडि अरु कारणहरुमा एउटै जेनेरिक औषधि (औषधिको विश्वव्यापी प्रचलनमा रहेको वास्तविक नाम) का सयौं बाण्ड (औषधिको व्यापारिक प्रयोजनका लागि वास्तविक नामभन्दा भिन्दै हुने गरी औषधि उध्योगद्वारा राखिएको नाम) उपलब्ध हुनु, तिनीहरुको कच्चा पदार्थको संवेदनशील ढङ्गबाट परीक्षण नभई बजारमा बिक्री वितरण गर्न योग्य स्वरुप अर्थात् सर्वसाधारणले प्रयोग गर्ने स्वरुपको मात्र परीक्षण हुनु, विभागद्वारा बजारको नियमित रुपमा छड्के जाँच गरी औषधिको नमुनाको स्व:फुर्त परीक्षण गरी प्रतिवेदन सार्वजनिक नगरिनु, इमर्जेन्सी अवस्थामा जीवनदायक वा जीवन बचाउने खालका औषधिहरु आयातीत औषधिमा भर पर्नुपर्ने अवस्था हुनु, ५० का हाराहारीमा स्थापित सबै स्वदेशी औषधिहरु समान प्रकृतिका औषधि उत्पादनमा मग्न भई अस्वस्थ तवरले औषधिको प्रचार-प्रसारमा बेरोकटोक लाग्नु आदि रहेका छन् । यसका अलावा एउटै औषधिले पनि विभिन्न बिरामीमा विभिन्न खालका प्रतिक्रिया देखाउने वैज्ञानिक आधारहरुको खोजीनीति नगरिएको स्थिति नेपालमा विध्यमान छन् ।
औषधिको गुणस्तरका यी यावत् समस्याका बाबजुद नेपालमा सो को नियमनका लागि या त राष्ट्रिय औषधि प्रयोगशाला वा सो बाट मान्यताप्राप्त औषधि प्रयोगशाला वा औषधि उध्योगका आफ्नो गुणस्तर प्रयोगशालाको प्रतिवेदन वा डाक्टरको क्लिनिकल अनुभवलाई मात्र औषधिको गुणस्तर मापनका आधार मान्ने गरिएको पाइन्छ । यसमध्ये प्रयोगशालाको परीक्षणबाट औषधिको पदार्थको गुणस्तर मापन गरिने तथा डाक्टरको क्लिनिकल अनुभवबाट औषधिको गुणस्तर मापन गरिने विधि अध्ययन-अनुसन्धानबाट परम्परागत विधि साबित भइसकेकाले गुणस्तरको सुनिश्चितताका लागि अन्य वैज्ञानिक आधारहरुको नेपालमा अविलम्ब प्रयोग तथा कार्यान्वयन अति नै आवश्यक भइसकेको छ ।
यस्ता वैज्ञानिक आधारहरुमा फर्मासिष्टको फर्मास्युटिकल विज्ञता र क्लिनिकल अनुभवबाट फाइदा लिई विकसित देशहरुका अध्ययन-अनुसन्धानबाट पत्ता लगाइसकिएका औषधिको गुणस्तरमा असर पार्ने निम्न तत्वहरुलाई मनन् गर्नु रहेका छन् :
१. उही व्यक्तिमा उही औषधिले फरक समयमा फरक प्रतिक्रिया देखाउन सक्छ तथा फरक व्यक्तिमा उही औषधिले एउटै समयमा फरक प्रतिक्रिया दिन सक्छ (यी कुरामा सम्बन्धित व्यक्तिको आनुवांशिक तत्व अर्थात् जेनेटिक्सले भूमिका खेलेको हुन्छ र सो को अध्ययन फार्मेसी विज्ञानमा फर्माकोजेनेटिक्स वा फर्माकोजेनोमिक्सका विधामा गरिन्छ )
२. व्यक्तिको उमेर अनुसार बच्चा, युवा, वृद्द, महिला आदिमा उही औषधिको फरक प्रतिक्रिया देखिन सक्छ;
३. व्यक्तिको शारीरिक तौल वा मोटोपनाले पनि औषधिको अपेक्षित प्रतिक्रियामा फरक पार्दछन्;
४. रोगको प्रकृति र संवेदनशील स्थितिले पनि औषधिको प्रभावमा फरक पार्दछ
५. एकै पटक वा सँगसँगै सेवन वा प्रयोग गरिएका दुई वा सो भन्दा बढी औषधिहरुको आपसी पदार्थीय प्रतिक्रियाले पनि औषधिको खास र अपेक्षित असरमा धेरै गुणा फरक पार्दछ
६. व्यक्तिको आफु वरपरको वातावरणीय प्रभाव पनि औषधिको प्रभावसँग गाँसिएर आएको हुन्छ ।
माथि उल्लिखित वैज्ञानिक आधारहरुलाई मनन् गर्दै विकसित देशहरुका अनुभवहरुले के सिद्द गरिसकेका छन् भने उही औषधि कुनै बिरामीका लागि उपचारमा सहायक सिद्द हुन सक्छन् भने कुनै बिरामीका लागि प्रभावकारी नहुन सक्छन् साथै कुनै बिरामीमा नकारात्मक असरसम्म पनि पार्न सक्छन् । यी सबै वास्तविकतालाई नदरअन्दाज गरी आजको वैज्ञानिक युगमा नेपालको समग्र स्वास्थ्य स्थिति कसरी माथि उकास्न सकिएला? यो यक्ष प्रश्न स्वास्थ्यक्षेत्रमा क्रियाशील समस्त व्यक्ति, संघसंस्था साथै सरकारका लागि मनन् गर्नैपर्ने भइसकेको छ । यसका लागि विकसित देशहरुले दशकौं अघिदेखि अवलम्बन गरी सफलता हासिल गरिसकेका विधि अर्थात् प्रत्येक औषधिको प्रत्येक व्यक्तिमा प्रयोग तथा प्रतिक्रियाको सूक्ष्म अध्ययन-विश्लेषण र तिनको सुधारका लागि सरकारबाट फर्मासिष्टहरुलाई प्रत्येक अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा सो कामको जिम्मेवारी सहित अविलम्ब खटाउनु अत्यावश्यक देखिन्छ । यसबाट अस्पतालमा डाक्टर, नर्स लगायत अरु स्वास्थ्यकर्मीहरु आ-आफ्नो प्रोफेशनका निर्दिष्ट कामहरुमा गुणस्तरीय ढङ्गबाट दत्तचित्त भई समय दिन पाउने मात्र नभएर बिरामी र समग्र स्वास्थ्य क्षेत्रको गुणस्तरमा अभिवृद्दि भई स्वस्थ जनशक्तिलाई देशको वृहत्तर आर्थिक विकास र समुन्नतिमा लगाउन सकिने देखिन्छ ।
-डा. विनय सापकोटा
फार्मेसी अधिकृत/फर्मासिष्ट,
नेपाल सरकार निजामती कर्मचारी अस्पताल (sapkota.binaya@gmail.com)
सन्दर्भ: विश्व फर्मासिष्ट दिवस सेप्टेम्बर २५
Source: swasthyakhabar
Tags:
Pharmacist voice