‘बिश्व फर्मासीष्ट दिवस’को सान्दर्भिकता र फर्मासीष्टको भूमिका

विश्वभरी आजकै दिन (सेप्टेम्बर २५) मा “फर्मासीष्ट योर पार्टनर इन हेल्थ” भन्ने मुख्य नाराका साथ विश्व फर्मासीष्ट दिवस मनाईदै छ । वास्तवमा बिरामीको उपचारको लागि डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीको जति जिम्मेवारी हुन्छ उत्तिकै फर्मासीष्टको पनि हुन्छ र उपचारको लागि सबैभन्दा उत्तम बिकल्पको छनोट गर्न फर्मासीष्ट हरेक हेल्थ केयर टीममा नभइ हुँदैन । हरेक रोगको उपचारमा 3 P’s (पेसेन्ट, फर्मासीष्ट एण्ड फिजिसियन) को त्रिकोणात्मक सम्बन्ध हुन्छ, एउटा मात्रको पनि सक्रिय सहभागीतामा कमी भयो भने उपचारका लागि गरिएका सम्पूर्ण प्रयत्नहरु निरर्थक हुन्छन् । अझ भनौं अहिलेको समयको माग भनेको कोलाबोरेटिभ एप्रोच हो जुन शब्दले बिरामीको उपचारको लागि टीमवर्क वा पार्टनरसिपको अवधारणालाई बुझाउँछ । प्रायः सबैजसो रोगको उपचारको लागि औषधीको प्रयोग गर्नैपर्ने हुन्छ तर औषधीको समुचित प्रयोग हुन सकेन भने बिरामीको अवस्था झन् बिग्रन सक्छ । “जहाँ अस्पताल त्यहाँ औषधी र जहाँ औषधी त्यहाँ फर्मासीष्ट” भन्ने बाक्यांशले पनि फर्मासीष्टको भूमिकालाई प्रष्ट पार्दछ ।
सामान्यतया जनमानसले फार्मेसी पेशालाई औषधी व्यापारकोे रुपमा बुझेको पाईन्छ । इतिहासलाई एक पटक नियाल्ने हो भने बिगतमा जतिबेला नेपालमा फार्मेसी बिषयमा अध्ययन गर्ने कलेजहरु थिएनन् वा फार्मेसी अध्ययन गरेका व्यक्तिहरु प्रयाप्त थिएनन् त्यतिबेला औषधी बिक्रेता सम्बन्धी केही महिनाको तालीम लिई औषधी पसल सञ्चालन गरेको पाईन्छ । औषधी सम्बन्धी प्रयाप्त ज्ञान र सीपको अभावमा सञ्चालन गरिएको कारणले फार्मेसी पेशा प्रति जनमानसको बुझाई कम भएको हुन सक्छ  । तर बुझ्नुपर्ने कुरा के छ भने फर्मासीष्टले गर्ने काम सामान्य औषधी व्यवसायीको जस्तो होइन ।

फर्मासीष्ट को हुन् ?
औषधी बिज्ञानमा कम्तीमा एस एल सी पछि ३ बर्षको डिप्लोमा र ४ बर्षको स्नातक अध्ययन गरेको व्यक्तिलाई फर्मासीष्ट (औषधी विशेषज्ञ) भनिन्छ । फर्मासीष्ट त्यस्तो व्यक्ति हो जसलाई औषधीको बारेमा सम्पूर्ण जानाकारी हुन्छ जस्तैः औषधी प्रयोग गर्नु पर्ने कारणहरु, प्रयोग पश्चात् शरीरमा देखाउने असरहरु तथा प्रतिअसरहरु, मिश्रण गर्ने तरिका, औषधीको बनावट, सेवन गर्नुपर्ने न्युनतम मात्रा, औषधीले काम गर्ने तरिका, औषधीको गुणस्तर नियन्त्रण तथा भण्डारण गर्ने तरिकाहरु, आदिको बारेमा राम्रो ज्ञान राख्ने व्यक्ति बुझिन्छ । फर्मासीष्टले औषधीको समुचित प्रयोगका सातवटा सिद्धान्तहरु (जस्तै उचित बिरामी, उचित औषधी, उचित औषधी सेवन मार्ग, उचित समय, उचित मात्रा, उचित जानाकारी र उचित रेकर्ड) को अवधारणालाई सधैं आत्मसात गरेको हुन्छ । तर चेतनाको कमिले हुन सक्छ हालसम्म पनि नेपालमा फर्मासीष्टको भूमिका स्थापीत हुन सकेको छैन । जुन कुरामा अब परिवर्तन ल्याउनु जरुरी छ । रोग निको पार्नमा अन्य स्वास्थ्य कर्मीजत्तिकै फर्मासीष्ट पनि जिम्मेवार व्यक्ति हुन् भन्ने कुरा बुझ्न र बुझाउन अत्यन्त जरुरी छ ।
औषधी ऐन  फर्मासीष्टको भूमिका
औषधी ऐन २०३५ मा फर्मासीष्टको काम कर्तव्य र भूमिकाको बारेमा व्याख्या गरिएको छ । औषधीको गुणस्तर नियन्त्रणमा होस् वा बिरामीको सेवामा फर्मासीष्टको जिम्मेवारी गहन रहेको हुन्छ । औषधीको बिक्री बितरण गर्दा हुन सक्ने कमि कमजोरीहरुलाई नियन्त्रण गर्नुपर्छ भन्ने मान्यताले फर्मासीष्ट वा सहायक फर्मासीष्टको प्रत्यक्ष निगरानी चाहीन्छ भनी उक्त ऐनको दफा नं १७ (३) मा व्याख्या समेत गरिएको छ । तर व्यवहारमा भने सो कुरा पालना भएको देखिदैन । साँच्चीकै बिरामी केन्द्रित सेवा दिन सकियो भने नेपालको स्वास्थ्य क्षेत्रमा फर्मासीष्टको योगदान उल्लेखनीय हुन सक्छ । औषधी क्षेत्रमा लागेका सम्बन्धित सबैले ऐनमा व्याख्या गरिएका कुराहरुलाई आ—आफ्नो क्षेत्रबाट पालना गर्नुपर्ने जरुरी देखिन्छ ।

औषधीबारे जान्नै पर्ने केही कुराहरु
कतिपय रोगहरु आफैं निको हुने खालका हुन्छन् । सबै रोगमा औषधी सेवन गर्नु पर्दैन भने कतिपय रोगहरुको निदान राम्रोसँग नगरी औषधी सेवन गरेमा वास्तविक रोग पत्ता लगाउन कठीन पनि हुन्छ । डाक्टरको प्रेस्क्रिप्सन बिना र फर्मासीष्टको सल्लाह नलिई औषधी सेवन गरेमा घातक परिणाम आउन सक्छ । एन्टिबायोटिक जस्ता औषधीहरु निश्चित अवधिका लागि हरेक दिन एकै समयमा निश्चित मात्रामा सेवन गर्नुपर्ने हुन्छ । प्रेस्क्रिप्सन बिना किन्न पाइन्छ भनी जस्तैः प्यारासिटामोल, आइबुप्रोफेन, निमेसुलाइड जस्ता औषधीहरु लामो समय प्रयोग गर्दा कलेजो र मृगौला बिग्रने डर हुन्छ । कतिपय भिटामिनहरुको अनावश्यक प्रयोग गरेको पाईन्छ । शरीरलाई आवश्यक नभएको बेलामा सेवन गरियो भने भिटामिनले पनि नकारात्मक असरहरु देखाउन सक्छ । सस्पेन्सन वर्गका औषधीहरु जस्तैः एन्टासीड राम्रोसँग हल्लाएर मात्र सेवन गर्नु पर्दछ । कतिपय औषधीहरु चपाएर खानु पर्छ भने कतिपय औषधीहरु निल्नुपर्ने हुन्छ । कतिपय औषधीहरु सेवन गरेको केही समयसम्म सुत्नु हुँदैन वा यताउता हिडडुल गर्नुपर्छ । रुघाखोकी र एलर्जीमा प्रयोग गरिने कतिपय औषधीहरुले सेवन पश्चात झुम्म पार्न सक्ने भएकोले गाडी चलाउने वा मेशिन अपरेटर सम्बन्धी कुनै पनि कार्यहरु गर्नु हुँदैन । कतिपय औषधीहरु खालि पेटमा सेवन गनुपर्दछ भने कतिपय औषधीहरु खानापछि मात्र सेवन गर्नुपर्छ । औषधीमा सकृय तत्वको अलावा अन्य तत्वहरु पनि मिश्रण गरिएको हुन्छ । मधुमेहका रोगीहरुले चिनीको घोलमा बनाइएका सिरपहरु खोकी वा अन्य रोगमा सेवन गर्दा सावधानी अपनाउनु पर्दछ । यस्तै प्रकारले मुटु रोगी तथा अन्य दीर्घ रोगीहरुले औषधी सेवन गर्ने समय, औषधीका नकारात्मक असरहरुको बारेमा फर्मासीष्टसँग राम्रो सल्लाह लिएमा औषधीको प्रभावकारीता राम्रो हुन्छ ।

अस्पताल फार्मेसीमा औषधी किन्दा के फाईदा हुन्छ?
अस्पतालमा आउने सबै बिरामीहरुले औषधी सेवन गर्नु पर्दैन । अनावश्यक रुपमा सेवन गरिएको औषधीले हानीकारक असरहरु पनि देखाउन सक्ने भएकोले डाक्टरको प्रेस्क्रिप्सन बिना अस्पताल फार्मेसीबाट औषधीहरु बिक्री बितरण हुँदैन । हरेक बिरामीलाई माथि ब्याख्या गरिए जस्तै सही सल्लाह प्रदान गरिन्छ । औषधी किनेको बिस्तृत बिवरण पछिको लागि रेकर्ड राख्ने गरिन्छ । औषधीको मूल्यमा पनि ठगीने डर हँुदैन र सबैभन्दा महत्वपूर्ण कुरा “गुड फार्मेसी प्राक्टीस”को सिद्घान्त अनुसार औषधीको गुणस्तर कायम राख्नको लागि आवश्यक भौतिक पुर्वाधार, योग्य जनशक्ति र अन्य अवलम्बन गरिएको हुन्छ ।

समस्या के हो ?
वास्तविक समस्या भनेको जनचेतनाको कमि नै हो भन्ने लाग्छ । फर्मासीष्ट कस्ता व्यक्ति हुन्? भनेर बुझाउन सकियो भने अहिले देखिएका तमाम समस्याहरु समाधान हुन सक्छन् भन्ने लाग्छ । साथसाथै सम्बन्धित निकायहरु औषधी व्यवस्था बिभाग, नेपाल फार्मेसी काउन्सील, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उपभोक्ता मञ्च, फर्मासीष्टहरु आदि सबैले फार्मेसी पेशाको मर्यादालाई बुझेर काम गरि दिएमा फार्मेसी क्षेत्रको विकास सम्भव छ ।
नेपाल फार्मेसी काउन्सीलको पछिल्लो तथ्याङ्क हेर्दा देशमा हाल २११६ फर्मासीष्ट र ४५९८ सहायक फर्मासीष्ट दर्ता रहेका छन्  । फर्मासीष्ट र जनसंख्याको अनुपात हेर्ने हो भने लगभग १ जना फर्मासीष्टले १४००० भन्दा बढी मानिसहरुलाई सेवा दिनु पर्ने बाध्यता रहेको छ । देशका सरकारी अस्पतालहरुमा अझैपनि आफ्नो स्वामीत्वका फार्मेसी सञ्चालनमा छैनन् । केन्द्रिय स्तरका अस्पतालको अवस्थालाई हेर्ने हो भने (अपवादलाई छाडेर) अवस्था त्यही पाईन्छ । माथि भनिए जस्तै यदि बिरामीको उपचारको लागि संवेदनशिल हुने हो भने स्वास्थ्य मन्त्रालयले अब फर्मासीष्टको दरबन्दी थप गरी समग्र स्वास्थ्य सेवाको पु््नर्संरचना गर्न आवश्यक छ ।

अबको आवश्यकता के हो ?
भर्खरै मात्र देशमा नयाँ संबिधान जारी भएको छ । अब हाम्रो देशलाई पनि अन्य विकसित देशको दाँजोमा पु—याउन जरुरी छ । गुणस्तरीय फार्मेसी सेवालाई देशका गाँउ गाँउ सम्म बिस्तार गर्न सके अवश्य पनि फार्मेसी पेशा व्यापारको रुपमा होइन कि स्वास्थ्य सेवाको अभिन्न अंगको रुपमा रहन सक्नेछ । दक्ष जनशक्तिलाई देश भित्रै राख्न सक्नु पनि ठुलै चुनौती छ । औषधीको सहज आपूर्तिको लागि औषधी व्यवस्था बिभाग सक्रिय हुन एकदम जरुरी छ । ग्रामीण भेगमा खोलीएका फार्मेसीमा अनिवार्य रुपमा फर्मासीष्टको व्यवस्था गर्नुपर्दछ । प्रयाप्त मात्रामा अनुगमन गरी “गुड फार्मेसी प्राक्टीस”को अवधारणालाई कडाइका साथ लागु गर्नु पर्दछ । केही औषधीहरु जस्तैः रेफ्रीजेरेटरमा राख्नुपर्ने जस्तै भ्याक्सीनहरु, जीवनवर्धक औषधीहरु, क्यान्सर तथा दीर्घरोगमा प्रयोग हुने औषधीहरु अस्पताल फार्मेसीबाट फर्मासीष्टको निगरानीमा मात्र बिक्री बितरण गर्ने व्यवस्था मिलाउनु पर्दछ । कतिपय औषधीहरुको गुणस्तर अत्यधिक चिसोले, घामले, वा तातोले बिग्रिने भएकोले त्यस्ता औषधीहरुको गुणस्तर कायम राख्न उपयुक्त भौतिक पूर्वाधार, आवश्यक उपकरण व्यवस्था नभएका फार्मेसीहरुलाई उक्त औषधीको कारोवार गर्ने अनुमति दिनु हुदैन ।
नेपाल फार्मेसी काउन्सीलले पनि गुणस्तरीय शिक्षाको लागि अनुगमन तथा नियमन गर्न जरुरी देखिन्छ । साथै हरेक बर्ष ज्ञान र सीप वृद्घि गर्नैपर्ने कन्टीन्यू प्रोफेसनल डेभलपमेन्ट कोर्ष सञ्चालन गर्नुपर्दछ । बिकसित देशमा हरेक बर्ष कम्तिमा ४० घण्टाको निश्चित कोर्ष गर्नै पर्ने नियम हुन्छ । हाम्रो देशमा पनि सो कुरालाई लागु गर्न सकिन्छ । देशलाई समृद्घिको बाटोमा लैजानको लागि हरेक कुराहरुलाई सम्भव बनाउन जरुरी छ ।

जनताले पनि हरेक राम्रा कुराहरुमा सचेत नागरीकको हैसियतमा चासो र चिन्ता व्यक्त गर्नै पर्दछ । कुनै कुरा सुधार गर्नको लागि सल्लाह सुझावको अत्यन्त जरुरी पर्छ । अतः नेपालमा पनि फार्मेसी क्षेत्रमा देखिएका समग्र समस्याहरुलाई सुधार गर्नको लागि औषधी सेवन गर्नुृ भन्दा अगाडि एक पटक फर्मासीष्टको सल्लाह अवश्य लिने गरौं । आजको दिनको सान्दर्भिकताको लागि हामी सबैले फर्मासीष्टको महत्वलाई बुझौं ।
-बाबुराम अधिकारी
रजिष्टर्ड फर्मासीष्ट
अध्यक्ष, अस्पताल फर्मासीष्ट एसोसिएसन अफ नेपाल 
फार्मेसी म्यानेजर, ग्रान्डी इन्टरनेशनल हस्पिटल, 
धापासी, काठमाडौं
Source: Swasthyakhabar

Post a Comment

Previous Post Next Post