भाइरल हेपाटाइटिस रोगः भ्रम र यथार्थ

मानव शरीरको महत्वपूर्ण अंगहरुमध्ये कलेजो पनि एक हो। कलेजोमा हुने हेपाटोट्रोपिक बिषाणुको संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ। 
कलेजोलाई दुई प्रकारका बिषाणुहरुले संक्रमित गर्छन्। एउटा हेपाटोट्रोपिक र अर्को नन–हेपाटोट्रोपिक। हेपाटोट्रोपिक बिषाणुअन्तर्गत हेपाटाइटिस ‘ए, बी, सी, डी र ई’ पर्दछन्। यसले कलेजोलाई मात्र असर गरेपनि शरीरका अन्य भागमा दीर्घकालीन असर  पुर्‍याउँदैनन्।
नन–हेपाटोट्रोपिक बिषाणुअन्तर्गत ‘हर्पिस सिम्प्लेक’ र ‘इब्स्टेनवार’ बिषाणु पर्दछन्। यिनीहरुले भने कलेजोलगायत शरीरका अन्य अंगहरुमा समेत असर पुर्‍याउँछन् । भाइरल हेपाटाइटिस ए, बी, सी, डी र ई लाई दुई समूहमा बाँडिएको हुन्छ। पहिलो समूहमा ‘ए र ई’ पर्छन्  यिनीहरु बिशेषगरी प्रदुषित पानी तथा खानेकुराबाट सर्छन् र तुरून्त असर गरेपनि दीर्घकालीन असर भने गर्दैनन् ।
अर्को समूहमा बी, सी र डी पर्दछन्। यो रगत, रगतजन्य पदार्थ, सिरिन्ज, शारीरिक तरल पदार्थ र आमाबाट बच्चामा सर्दछ। यो दीर्घकालीन प्रकृतिको पनि हुन्छ र कलेजोलाई असरसमेत गर्दछ। हेपाटाइटिस बी एचआइभी एड्सभन्दा खतरनाक रहेको भनी प्रचार गरिएको भएपनि शरीरको प्रतिरोधात्मक क्षमताका कारण ९० प्रतिशत वयस्क मानिसमा ६ महिनाभित्र यो रोग आफैं निको भएर जान्छ ।
बाँकी १० प्रतिशत संक्रमितहरुमा भने कलेजो कडा हुने लगायतका दिर्घकालीन समस्या देखिन्छ जसलाई ‘लिभर सिरोसिस’ भएको भनिन्छ । लिभर सिरोसिस भएका मधेये केही संक्रमितलाई क्यान्सर समेत हुन सक्छ।
हेपाटाइटिस भयो भने जण्डिस देखिन्छ । यस्तो हुँदा मुख बार्ने, जडिबुटीको प्रयोग गर्ने, नाइटोमा लेप लगाउने जस्ता काम गरिन्छ । तर, मुख बार्दा पोषणको कमी हुन्छ र रोगसँग लड्ने क्षमतामा ह्रास आउन सक्छ । यस्ता कुरामा जनचेतना मार्फत् खानाप्रतिको धारणाबारे आमसमुदायलाई स्पष्ट पार्नु अपरिहार्य छ।
जण्डिस रोग होइन रोगको लक्षण मात्र हो त्यसैले उपचार गरेर त्यसको निदान गर्नुपर्छ । यसबारेमा हामीले हाम्रा बिरामीलाई राम्ररी बुझाउन अझै सकेका छैनौं त्यसैले बिरामी र बिरामीका आफन्तलाइ यसवारे जानकारी गराउनु जरुरी छ। 
हेपाटाइटिसबाट हरेक वर्ष बिश्वभर १५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । संसारमा ‘मेडिकल डिजिज’ मा मानिसको ज्यान लिने यो आठौँ ठुलो रोग हो ।
ठुलो रोग भएपनि मानिसले धेरै चासो नदेखाएका कारण विश्व स्वास्थ्य संगठनले संसारको हेपाटाइटिसप्रतिको धारणा बदल्न र यस रोगबाट पर्ने आर्थिक भारको चेतना जगाउन विश्व हेपाटाइटिस दिवस मनाउन सुरु गरेको छ।
हरेक वर्षको जुलाई २८ का दिन हेपाटाइटिस दिवस मनाउने गरिन्छ । यसपटकको हेपाटाइटिस दिवस ‘हेपाटाइटिसको रोकथाम अव तपाँइको हातमा’ ुएचभखभलत ज्भउबतष्तष्क स् क्ष्तुक गउ तय थयग ुभन्ने नाराका साथ मनाइदै छ। 
जनचेतनामार्फत् हेपाटाइटिस भइसकेकाहरुले अपनाउनुपर्ने सावधानी र भइनसकेकाहरुले अपनाउनुपर्ने सुरक्षा अपनाएर यस बिरुद्धको खोप बारे बुझाउनु अपरिहार्य छ। 
हेपाटाइटिसका कारण हुने लिभर सिरोसिस र लिभर क्यान्सर पनि भयावह रुपमा बढ्दो छ। हेपाटाइटिसको रोकथाम गर्न सके ठूलो जनधनको क्षति हुनबाट बचाउन सकिन्छ । सबै किसिमका हेपाटाइटिसहरुको खोप अझै उपलब्ध भइसकेको छैन । बजारमा हाल हेपाइटिस ए र बी को मात्र खोप उपलब्ध रहेका छन् ।
यो रोग लाग्दैमा हात मिलाउन नहुने, सँगै बस्न नहुने, एउटै ओछ्यान प्रयोग गर्न नहुने भन्ने छैन। हेपाटाइटिसको भाइरस धेरै समयसम्म बाँच्ने हुनाले मात्र यसलाइ डरलाग्दो भनिएको हो । हेपाटाइटिसले कलेजोलाई मात्र असर गर्छ । समस्या देखिइसकेपछि यसलाई लुकाउनु भन्दा समयमै उपचार गर्नुपर्छ।
हेपाटाइटिस बी र सी को उपचार तुलनात्मक रुपमा केही महँगो रहेको छ । हेपाटाइटिस बी को औषधि २ वर्ष वा जीवनभर पनि सेवन गर्नुपर्ने हुनसक्छ । जसका कारण आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई खर्च धान्न मुस्किल पर्नसक्छ।
नेपालमा हेपाटाइटिस बी र सी का बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन । करिब २ प्रतिशत अर्थात् ६ लाखको हाराहारीमा हेपाटाइटिस बी र एक लाख हेपाटाइटिस सी का बिरामी रहेको अनुमान गरिएको छ। नेपालमा यस रोगबारे चेतना स्तर निकै कम रहेकाले सरकारले हेपाटाइटिसलाई जनस्वास्थ्य कार्यक्रममा समेटेर स्वास्थ्य चौकीदेखि केन्द्रिय अस्पतालहरु सम्म चिकित्सकहरुसँगै जनस्वास्थ्यमा सरोकार राख्ने हरेकलाई यसको रोकथाम, सर्ने माध्यम तथा उपचारलगायतका बिषयमा सुसुचित गर्न जरूरी छ। 
समाजमा नकारात्मक रूपमा लिने गरिएको यस रोगलाई सरकारसँगै सबै सरोकारवाला निकायहरुले अभियान चलाएर जनचेतना फैलाउनु जरुरी छ र यो निको हुने खालको रोग हो भन्ने कुरा समुदायलाई बुझाउनु जरुरी छ।
राजधानीको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि विविध कार्यक्रमहरु गरी विश्व हेपाटाइटिस डे मनाउँदै छ।


 

प्रकाशित मिति: आइतबार, साउन १०, २०७२ १८:५३:५०



डाक्टर विवेक शर्मा,
कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजीष्ट तथा हेपाटोलोजिष्ट 
लेखक डा. बिबेक शर्मा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ हुन्।

**see more at: http://kinmel.setopati.com/ausadhi-upachar/27704/



Post a Comment

Previous Post Next Post