भ्याली हेल्थ सेन्टरमा एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा तथा औषधि

भक्तपुर– श्रमजीवी महिला तथा बालकल्याण परिषद्, भ्याली हेल्थ सेन्टरले आइतबारदेखि आगामी एक वर्षसम्मका लागि महिला तथा बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको छ ।
बीस वर्षदेखि महिला तथा बालबालिकाका लागि काम गर्दै आएको परिषद्का अध्यक्ष रञ्जु नापितले महँगो अस्पतालमा गएर उपचार गराउन नसक्ने महिला तथा बालबालिकालाई स्वास्थ्य सेवा दिन सञ्चालित सेन्टरले अब एक वर्षसम्मका लागि निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको बताए।
ब्याँसीमा सञ्चालित सेन्टरमा महिलाको सामान्य चिकित्सा, स्त्रीरोग तथा प्रसूति सेवा, बालरोग सेवा, गर्भवती जाँच सेवा, खोप सेवा, परिवार नियोजनसम्बन्धी सेवा, प्रयोगशाला सेवा, इसिजी सेवा, एक्सरे सेवा दिने बताइएको छ ।
विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य सेवासँगै निःशुल्क औषधि वितरण गर्नाका साथै स्वास्थ्यसम्बन्धी परामर्श दिइने र एक वर्षमा जिल्लाका ३० ठाउँमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने अध्यक्ष नापितले जानकारी दिए ।



Post a Comment

Previous Post Next Post