मेवा : वनस्पति एक फाइदा अनेक

 हाम्रो पाचनतन्त्रको लागि सबै आवश्यक गुणले परिपूर्ण मेवा शरीरलाई पोषण दिने अत्यन्त स्वास्थ्यवर्धक फल हो । शरीरको क्षारलाई सन्तुलित राख्छ । आयुर्वेदका अनुसार, पाकेको मेवाको सेवनले पित्तको शमन हुन्छ र खानपानमा रुचि उत्पन्न हुन्छ ।
मेवामा ‘पपेन’ नामक तत्त्व हुन्छ, जुन धेरै राम्रो पाचक मानिन्छ । मेवाको रसले प्रोटिनलाई सजिलै पचाउँछ । यसैले मेवा पेट र आन्द्रा सम्बन्धी विकार हटाउन धेरै लाभदायक मानिन्छ । मेवा खाँदा पेट र आन्द्रा सफा भई क्षारको प्राकृतिक स्तर यथावत् रहने गर्छ ।
मेवाको नियमित सेवनले अरुचि हट्छ, कब्जियत निको हुन्छ र भोक बढ्दै जान्छ । मेवा मांसाहारलाई गलाउन काम आउँछ । त्यसैले माछामासु खाएपछि मेवा खाँदा राम्ररी पच्छ । कलेजो तथा जण्डिसमा मेवा धेरै फाइदाकारी मानिन्छ । यसको प्रयोग सौन्दर्य प्रसाधनमा समेत गरिन्छ । लामो समयसम्म मेवा खानाले बोसो कम हुन्छ, कम्मर पातलो हुँदै आउँछ ।
 यसमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । आँपपछि सबैभन्दा बढी भिटामिन ‘ए’ मेवामै पाइन्छ । यो पाक्न थाल्दादेखि नै यसमा भिटामिन ‘सी’ को मात्रा बढ्दै जान्छ । यसमा पाइने भिटामिन ‘ए’ छाला एवं आँखाका लागि निकै आवश्यक हुन्छ । यो भिटामिनले छाला स्वस्थ र स्वच्छ राख्छ अनि चमक बढाउँछ ।
यस्तै, भिटामिन ‘बी’ बढी मात्रामा र ‘डी’ पनि पाइन्छ । मेवामा फोस्फोरस, म्याग्नेसियम, सोडियम तथा शरीरका लागि आवश्यक अन्य खनिज लवणसमेत पाइन्छ ।
मेवा सौन्दर्य प्रसाधनमा समेत उपयोग हुन्छ । पाकेको मेवाको गुदी अनुहारमा लगाउनाले पोतोले दु:ख दिन पाउँदै, भएको पनि हट्छ । अनुहारको दाग हटाउन यो धेरै प्रभावकारी मानिएको छ । यसले छालाको रुखोपना हटाउँछ, छाला चाउरिन दिँदैन । आयुर्वेदका अनुसार, मेवा खानाले धातु सम्बन्धी विकार र वीर्यको कमी हट्दै जान्छ । काँचो मेवा खानाले कफ–बात त बढ्छ, तर यो अजीर्ण, कलेजोको विकार, पाइल्स आदि रोग निर्मूल गर्न गुणकारी मानिन्छ ।
प्रकाशित: आश्विन ११, २०७२, Kantipur

Post a Comment

Previous Post Next Post