तत्काल औषधि नआए स्थिति भयावह

‘तत्काल औषधि नआए स्थिति भयावह’
मंसिर ३, २०७२- भारतीय नाकाबन्दीका कारण मुलुकमा औषधि र चिकित्सकीय सामग्रीको चरम अभाव भएको भन्दै चिकित्सक र व्यवसायीहरूले आपूर्तिका लागि तत्काल विशेष कदम नचालिए भयावह परिस्थिति आउन सक्ने चेतावनी दिएका छन् ।
सरकारले इन्धन आपूर्तिलाई प्राथमिकतामा राखे पनि औषधितर्फ ध्यान दिन नसकेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनी झाले बताए । ‘औषधि र चिकित्सकीय सामग्रीको अभावलाई सम्बोधन गर्न सरकार संवेदनशील देखिएन,’ उनले भने, ‘इन्धनजस्तै औषधिसमेत सरकारी प्राथमिकतामा परेको भए यस्तो स्थिति नै आउने थिएन ।’ सरकारले नाकाबाट ट्रक भित्रिने प्रक्रियामा औषधिलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुपर्ने उनले बताए ।
नेपाल औषधि व्यवसायी संघका अनुसार भारतीय नाकाबन्दीका कारण तीन महिनायता नाकामा करिब डेढ अर्ब बराबरको औषधि रोकिएका छन् । औषधि आपूर्ति सहज बनाउन सरकारले कार्यदल गठन गरे पनि त्यो कागजमा मात्रै सीमित रहेको औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए ।
अधिकांश औषधि व्यवसायीले आफ्नो मौज्दात औषधिको भण्डारण वीरगन्जमा गर्ने गरेका छन् । तर इन्धन अभावका कारण त्यहाँ भएकै औषधि पनि मुलुकका अत्यावश्यक ठाउँमा पुर्‍याउन नसकिएको श्रेष्ठले बताए । औषधि ओसार्न इन्धनको माग गरिए पनि नपाइएको उनले जनाए ।
राजधानीका केन्द्रीय स्तरका ९ सार्वजनिक अस्पताल प्रमुखहरूले औषधिलगायतको अभावबारे २४ दिनअघि नै प्रधानमन्त्री केपी ओलीलाई पत्र लेखेका थिए । पत्रमा इन्धन र औषधि उपचार सामग्रीको कमीबारे जानकारी गराउँदै सेवा अवरुद्घ हुन नदिन आग्रह गरिएको थियो । उक्त आग्रहप्रति सरकारले चासो नदिएको केही अस्पताल प्रमुखहरूले गुनासो गरे ।
अभाव हुन नदिन हवाईमार्गबाट समेत औषधि ल्याउन सकिने वीर अस्पतालका निर्देशक डा.स्वयंप्रकाश पण्डितले बताए ।


प्रकाशित: मंसिर ३, २०७२Kantipur

Post a Comment

Previous Post Next Post