औषधि खरिद गरी भ्रष्टाचारको मुद्दा लागेका दश कर्मचारीलाई सफाई

काठमाडौं– विशेष अदालतले औषधि खरिद गरी भ्रष्टाचारको मुद्दा लागेका स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकसहित दश कर्मचारीलाई सफाई दिएको छ।

विशेषले बिहीबार उनीहरुको संलग्नतामा कुनै भ्रष्टाचारजन्य कार्य भएको पुष्टी हुन नसकेको भन्दै यस्तो निर्णय सुनाएको हो।

सुत्केरी गराउँदा पाठेघरको मुख खुलाउन र रक्तश्राब रोक्न प्रयोग गरिने मेजोप्रोटोल खरिद प्रक्रियामा अनियामिता आरोप लागेका तत्कालीन महानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पालगायत अन्यले अदालबाट राहत पाएका हुन्। सरकारले निःशुल्क बाँडिरहेको औषधि मेजोप्रोटोल खरीद, आपूर्ति प्रक्रियाहरूमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ जेठ ११ गते विभागका १२ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अदालतको आदेशले सफाई पाउनेमा आपूर्ति व्यवस्था महाशाखाका तत्कालिन प्रमुख डा. नरेशप्रताप केसी, आपूर्ति व्यवस्था महाशाखाका तत्कालीन वरिष्ठ निर्देशक कृष्णबहादुर चन्द, आपूर्ति व्यवस्था महाशाखा खरीद ईकाइमा कार्यरत पवन कोइराला रहेका छन्। विशेषले औषधी खरिद गरि भ्रष्टाचार गर्ने कार्यमा तत्कालिन आपूर्ति व्यवस्था महाशाखामा कार्यरत जनस्वास्थ्य अधिकृत रामसुन्दर यादव, जन स्वास्थ्य निरीक्षक हेमलाल ज्ञवालीको संलग्नता पुष्टी हुने कुनै प्रमाण नभएको भन्दै सफाई दिने निर्णय सुनाएको हो।

विशेषले एटलस मेडिसन कन्सर्नका आपूर्तिकर्ता संजय गुप्ता तथा फर्म धनी विद्या सुवेदीलाई समेत सफाइ दिएको छ। अख्तियारले उनीहरुसँग भ्रष्टाचार निवारण ऐन बमोजिम कसुर गरेको भन्दै उनीहरुसँग ६ करोड ३४ लाख ६६ हजार रुपैयाँ बिगो असुल हुनुपर्ने माग गरेको थियो। विशेषको आदेशले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साह र आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले समेत सफाइ पाएका छन्।
- Source: Nagariknews

Post a Comment

Previous Post Next Post