डा. भगवान भन्छन्– केही दिन यस्तै रहेछ औषधी नपाएर बिरामी भकाभक मर्न थाल्नेछन्

काठमाडौं, १ मंसिर । चिकित्सकले औषधि ढुवानी व्यवस्था निर्बाध गर्न आन्दोलनरत मधेसी मोर्चा तथा भारत सरकारलाई आग्रह गरेका छन् । लाइफ सेभिङ र इमर्जेन्सी औषधि पनि अभाव भएकाले बिरामीको ज्यान बचाउन नसक्ने अवस्था आएको उनीहरूको भनाइ छ ।
औषधिजस्तो अत्यावश्यक वस्तु जुनसुकै उपाय अपनाएर भए पनि उपलब्ध गराउन उनीहरूले सरकारलाई आग्रह गरेका छन् । मधेस आन्दोलन र नाकाबन्दीले स्वास्थ्य क्षेत्रमा पारेको असरबारे जानकारी लिन आइतबार नेपाल चिकित्सक संघद्वारा आयोजित कार्यक्रममा चिकित्सकले यस्तो आग्रह गरेका हुन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटुको इमर्जेन्सी अवस्था (हर्टबिट रोकिएको वेला गर्नुपर्ने सिपिआर) लाई चाहिने एड्रिनालिन औषधि नै बजारमा नपाएको जानकारी दिए । उनले आइतबार राति नेपाल मेडिकल कलेजमा ल्याइएको एक बिरामीलाई सो औषधि नभएकाले निकै समस्या देखिएको बताए ।

‘अन्तिम अवस्थामा पुगेका बिरामीलाई बचाउने एड्रिनालिनजस्ता थुप्रै औषधिको मौज्दात बजारमा सकिँदै गएको छ । यस्तै अवस्था केही दिन रहे अस्पताल आएका धेरै बिरामी औषधि अभावमा भकाभक मर्ने अवस्था आउँछ,’ डा. कोइरालाले भने । उनले आन्दोलनरत मधेसी दल र भारत सरकारलाई मानवीय संवेदना बुझ्न आग्रह गरे ।
‘अधिकारका लागि तपाईंले गरेको आन्दोलन जायज नै होला, तर औषधि रोकेर बिरामी मर्ने अवस्थामा पुर्‍याएर पाउने अधिकारको के अर्थ ?’ कोइरालाले मधेसी दललाई प्रश्न गरे । उनले औषधि रोकेर कुहिने तरकारी पठाउने भारत सरकारको कार्यशैलीप्रति पनि आक्रोश व्यक्त गरे ।
अर्का वरिष्ठ फिजिसियन डा. अर्जुन कार्कीले अहिलेको अवस्था आउनुमा राजनीतिक कारण भए पनि यसबाट सिर्जित मानवीय संकटलाई न्यूनीकरण गर्न चिकित्सकले अन्तर्राष्ट्रिय निकायलाई गुहार्नुपर्ने सुझाब दिए ।
उनले रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइसिआरसी, संयुक्त राष्ट्रसंघ, अमेरिकन मेडिकल एसोसिएसन, भारतीय मेडिकल एसोसिएसन, बेलायती मेडिकल एसोसिएसनबाट लबिङ थाल्नुपर्ने बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

Previous Post Next Post